Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

भक्तपुरमा होलीलाइ योनी पर्वका रूपमा मनाइन्छ !

रमेश गिरी-'भीमसेन देया लज खङ्लो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अर्थात् 'भीमसेनको लिङ्गले मन लोभियो की, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा अचेल गुञ्जने गर्छ नेवारी भाषाको यो गीत ।

फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु हुने फागु अर्थात् होली पर्वको अवसरमा भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनलाई स्वागत र बिदाई गर्दछन् । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व हेर्न र सङ्गीतमा रमाउन स्थानीयवासी सधैँ यसरी जम्मा भएर परम्परालाई धान्दै आएका छन् ।

भक्तपुरमा होली पर्व पृथक शैलीमा मनाइन्छ, यहाँको भीमसेन गुठीले परम्परादेखि नै होलीलाई यौनपर्वका रूपमा दाँज्दै आएको छ । गुठीले हरेक वर्षझैँ यस वर्षपनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रोपतीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमका रूपमा राखेको छ । यसलाई पूजा एवम् दर्शन गर्न स्थानीय जनताको सधैँ बिहान घुइँचो लाग्ने गर्दछ । यो हेर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउँछन् ।

काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान भक्तपुरको टोल, छिमेक, घर, पसलपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइन्छ । भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई ‘चिर स्वाय्गू’ भनिने बताउँछन् । चिर स्वाय्गू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने उउनले बताए ।

होली सुरु हुनुअघि फागुन शुक्ल अष्टमीका दिन बिहान भीमसेनको लिङ्गलाई दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिरवरिपरि रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दानदक्षिणा दिने गर्दछन् । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउँछन् ।

बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको पाटीमा झुन्ड्याएको छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रोपतीको यौन समागमको रूपमा लिइने धौभडेलले बताए ।

साङ्केतिक रूपमा यौनसँग सम्बन्धित फागुपर्व अर्थात् होली पर्व दक्षिण एसियामा कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको उनले बताए । चिर स्वाय्गू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । विशेषगरी होलीभरि शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ ।

“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवान्को पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता कीराफट्याङ्ग्रादेखि पशुपक्षीमा समेत छ । यौन बिनाको जीवन अधुरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ”— भक्तपुरका ६१ वर्षीय शिक्षक राजाराम श्रेष्ठ बताउँछन् ।

काठबाट बनेको दुई हात लामो र करिब ३० इन्च मोटाइ रहेको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रोपतीको योनीका रूपमा लिने गरिएको छ । भीमसेन र द्रोपतीको यौन सम्बन्धका रूपमा राखिएको लिङ्ग र यौनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रूपमा नभई सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्दै आएका छन् ।

त्यसैले यस मन्दिरमा झुन्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न एवम् यसको दर्शन गर्न भक्तपुरका मात्र नभई उपत्यकाकै कतिपय व्यापारी र धार्मिक विश्वास राख्ने कयौँ व्यक्ति यहाँ आउने गरेको भीमसेन गुठीका कृष्णबहादुर गायजुले बताए । पुरुषमात्र नभई यसको अवलोकन एवम् दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरूले धार्मिक विश्वासकै आधारमा झुन्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन् ।

एक सातासम्म मन्दिरमा झुन्ड्याएको लिङ्ग र योनी हेर्न र दर्शन गर्न स्थानीय महिला र पुरुषको भीड लाग्ने र विदेशी पर्यटकले समेत यसलाई महत्वका साथ लिने गरेको स्थानीयवासीले बताउँछन् ।

फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने गरेको स्थानीयवासी गायजुले बताए ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।

लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुने गर्दछ । भीमसेनको मन्दिर जगत्प्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरु भएको हुनसक्ने सँस्कृतिविद्को भनाइ छ ।

वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने र यो यौन ऊर्जाको समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको गायजु बताउँछन् । रासस


No comments:

Leave a Reply